८. चलचित्र घर जँचाउनु पर्ने :-
(१) चलचित्र घर निर्माण गर्ने व्यक्तिले चलचित्र घर निर्माण गरिसकेपछि चलचित्र घर जाँच समितिबाट जँचाउनु पर्नेछ ।
(२) चलचित्र घर जाँच समितिले चलचित्र घर जाँच गर्दा सो घरमा नियम ६ मा उल्लेख भए बमोजिमको व्यवस्था पूरा भएको देखेमा सो कुराको जानकारी मन्त्रालय र सम्बन्धित व्यक्तिलाई समेत दिनु पर्नेछ ।
८क. चलचित्र घर जाँच गर्नु पर्ने :-
(१) चलचित्र घरमा यस नियमावली बमोजिम हुनुपर्ने न्यूनतम व्यवस्था भए नभएको सम्बन्धमा बोर्डले आवश्यकता अनुसार सम्बन्धित विशेषज्ञको सहयोग लिई कम्तीमा तीन वर्षमा एकपटक प्रत्येक चलचित्र घर जाँच गर्नुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम चलचित्र घर जाँच गर्दा यस नियमावली बमोजिम चलचित्र घरमा हुनु पर्ने न्यूनतम व्यवस्था भएको नदेखिएमा बोर्डले समय तोकी त्यसरी नपुग भएको व्यवस्था पूरा गर्नको लागि सम्बन्धित इजाजतपत्र प्राप्त व्यक्तिलाई आदेश दिनेछ ।
(३) उपनियम (२) बमोजिम दिइएको म्यादभित्र इजाजतपत्र प्राप्त व्यक्तिले चलचित्र घरमा सुधार नगरेमा बोर्डले त्यस्तो इजाजतपत्र प्राप्त व्यक्तिलाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा लेखी पठाउनेछ र सम्बन्धित निकायले पनि लेखी आए बमोजिम आवश्यक कारबाही गर्नुपर्नेछ ।
८ख. अन्य स्थानमा चलचित्र प्रदर्शन सम्बन्धी व्यवस्था :-
(१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कसैले चलचित्र घर बाहेकको अन्य कुनै स्थानमा चलचित्र प्रदर्शन
गर्न चाहेमा मन्त्रालयबाट निर्धारित ढाँचामा स्वीकृतिको लागि मन्त्रालय समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा मन्त्रालयले त्यस्तो स्थानमा चलचित्र प्रदर्शन गर्न हुने वा नहुने सम्बन्धमा सिफारिस गर्न सम्बन्धित चलचित्र घर जाँच समितिलाई लेखी पठाउनेछ ।
(३) उपनियम (२) बमोजिम मन्त्रालयबाट लेखी आए अनुसार जाँच गर्दा त्यस्तो स्थानमा नियम ६ को उपनियम (१) बमोजिमको न्यूनतम व्यवस्था पूरा भएको देखिएमा चलचित्र घर जाँच समितिले सो कुराको सिफारिस मन्त्रालयलाई गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम चलचित्र घर जाँच समितिबाट सिफारिस भई आएमा मन्त्रालयले त्यस्तो स्थानमा चलचित्र प्रदर्शन गर्न दरखास्तवालालाई मन्त्रालयबाट निर्धारित ढाँचामा स्वीकृति दिनेछ ।
(५) चलचित्र घर बाहेक अन्य स्थानमा चलचित्र प्रदर्शन गर्न उपनियम (४) बमोजिम स्वीकृति दिंदा, चलचित्र प्रदर्शन गर्न इजाजतपत्र दिंदा वा त्यस्तो इजाजतपत्र नियम १० को उपनियम (३) बमोजिम नवीकरण गर्दा “(ग)” श्रेणीको चलचित्र घरको लागि लाग्ने दस्तुर
लाग्नेछ ।
(६) उपनियम (४) बमोजिम स्वीकृति प्राप्त व्यक्तिले पालन गर्नु पर्ने शर्त चलचित्रको प्रविधि अनुकूल हुने गरी मन्त्रालयले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिए बमोजिम हुनेछ ।
(७) उपनियम (४) बमोजिम चलचित्र प्रदर्शन गर्न स्वीकृति पाएको स्थानको जाँच सम्बन्धी अन्य व्यवस्था चलचित्र घर सरह हुनेछ ।